वैशाख १४, माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को परीक्षा देशभर एकैसाथ शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा शुक्रबार बिहान ७ बजेदेखि देशभरका एक हजार ५१ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए ।
सबैभन्दा बढी काठमाडौँमा १ सय १४ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक वटा परीक्षा केन्द्रमा परीक्षा भइरहेको छ । परीक्षामा देशभरका तीन हजार ९ सय १२ विद्यालयका २ लाख ८ हजार २ सय ७६ छात्र र २ लाख ६ हजार ९ सय ७५ छात्रा गरी कूल चारलाख १५ हजार २ सय ५२ परीक्षार्थी सहभागी भएका छन् ।
परीक्षामा सबभन्दा बढी काठमाडौँमा ६१ हजार ९ सय २६ तथा सबैभन्दा कम मनाङमा ८८ जना परीक्षार्थी सहभागी छन् । बोर्डका अनुसार परीक्षामा एक हजार ५१ केन्द्राध्यक्ष, एक हजार ८ सय ८८ सहायक केन्द्राध्यक्ष, २० हजार ८ सय ६३ निरीक्षक, एक हजार ६० परीक्षा केन्द्रमा खटिने कर्मचारी, दुई हजार १ सय २० कार्यालय सहयोगी, १२ हजार ७ सय २० सुरक्षाकर्मी गरी कूल ३९ हजार ७ सय २ जनशक्ति परिचालन भएका छन् ।
कक्षा १२ को परीक्षा आगामी २७ गतेसम्म सञ्चालन हुनेछ । कक्षा ११ को परीक्षा भने वैशाख ३० गतेदेखि शुरु भई जेठ २९ गते सम्पन्न हुनेछ । परीक्षामा अमर्यादित काम गरेको पाइएमा ६ महिना कैद र एक लाखसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।
Comments are closed, but trackbacks and pingbacks are open.