भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन ः प्रधानमन्त्री
वैशाख १६, प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन, नागरिकलाई आर्थिक रुपले सम्पन्न बनाउने कुरामा अब कुनै पनि कुरामा अल्झिन नहुने बताएका छन् ।
मुलुकको आर्थिक समृद्धिका लागि मुलुकभित्र भएका मानवीय स्रोत साधन, प्राकृतिक स्रोत साधन, सीप ज्ञान, उपलब्ध पूँजी, संरचनाहरुको अधिकतम उपयोग गरेर आर्थिक विकासमा केन्द्रित हुनुपर्ने समेत बताए ।
ओलीले पहिलोपटक प्रदेश नं ५ को प्रदेशसभा बैठकलाई आइतबार बुटवलमा सम्बोधन गर्दै तीनवटै तहका सरकारको ध्यान अब आर्थिक विकास र समृद्धिका लागि लाग्नुपर्ने बताए ।
संविधानले दिएको तीन तहको सरकार गठन गरेपछिको पहिलो पटक संघीय सरकारको प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्न पाउँदा निकै खुशी लागेको बताउँदै यस्तो खुशीको अनुभूति प्रत्येक नागरिकलाई दिलाउन पहल गर्नुपर्ने बताए ।
लोकतन्त्रको स्थापनाका लागि गरिएका आन्दोलनले केही समय देश पछाडि परेको बताउँदै राष्ट्रसंघले अगाडि सारेको सन् २०३० सम्मको दिगो विकासको लक्षलाई पूरा गर्न वर्तमान सरकारले आफ्नो नीति तथा कार्यक्रममा महत्वपूर्ण कार्यक्रमलाई अगाडि बढाउने स्पष्ट पारे ।
नेपालको व्यापार घाटामा असन्तुलन मात्र नभएर निकै ठूलो अन्तर रहेको बताउँदै यसलाई घटाउन हरेक कुराको सदुपयोग गरेर निर्यातमूलक उत्पादन बढाउने र उत्पादन, रोजगारी, आयमूलक कार्यक्रम लागू गरेर जनताको जीवनस्तर बढाउने काम वर्तमान सरकारले अगाडि बढाउने बताए ।
उनले आफ्नो भारत भ्रमणमा भएका कुराहरु र दुवै देशका प्रधानमन्त्री लगायत अन्य नेताले बोलेका कुरा र संयुक्त प्रेस वक्तव्य जस्ता कुराबाट अब बराबरीको आधारमा सम्बन्ध स्थापित भएको मान्यतालाई स्थापित गरिएको समेत प्रदेशसभा बैठकलाई सम्बोधनमा बताए ।
प्रधानमन्त्री ओलीले नेपालको संविधानले सबैभन्दा धेरै उपलब्धि दिलाएको भन्दै सरकारको अबको ध्यान सामाजिक न्याय र समानतातर्फ केन्द्रित रहेको बताए । लोकतन्त्रलाई वास्तविक अर्थमा व्यवहारमा कार्यान्वयन गर्नेतर्फ लोकतान्त्रिक मूल्य मान्यतालाई आफ्नो आचरणमा र समाजको जीवनपद्धतिका रुपमा अपनाइने बताए ।
उनले लोकतन्त्रलाई राजनीतिक अधिकार प्राप्तिको मात्र नभएर प्रत्येक जनताको खान, लाउन, बस्न पाउने, स्वास्थ्यको अधिकार, शिक्षाको अधिकार र उन्नति र प्रगतिका लागि आर्थिक जीवन, समाजमा समान हैसियत कायम गर्नका लागि सामाजिक समानता कायम गर्ने विषयमा पनि व्यावहारिक रुपमा कार्यान्वयन गर्ने प्रष्ट पारे ।
उनले गौतमबुद्धको जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित थुप्रै क्षेत्रसँगै अन्य महत्वपूर्ण धार्मिकस्थानको संरक्षण, विकास र प्रचारप्रसार गरेर प्रदेशमा निकै ठूला अवसर रहेको भन्दै सो अवसरको उपयोग गर्नसमेत आग्रह गरे ।
धार्मिक पर्यटन, सांस्कृतिक, पर्यटन, कृषि, उद्योग, व्यापार लगायत धेरै सम्भावना प्रदेश नं ५ मा रहेको बताउँदै यसको योजनाबद्ध विकासमा लाग्नसमेत निर्देशन दिए ।
तत्काल आफ्नो स्रोतसाधनले मात्रै सबैखाले विकास गर्न र आर्थिक समृृद्धि गर्न सम्भव नभए छिमेकीको सहयोग र सीपको पनि उपयोग गर्न सकिने उनले बताए ।
उनले महिला पछाडि परेका वर्ग र समुदाय बीचमा रहेको असमानता हटाउन संविधानमा व्यवस्था भए अनुसारका क्रियाकलाप गर्न र वास्तविक रुपमै असमानता हटाउन समेत लाग्न आग्रह गरे ।
मुलुकको विकास, समृद्धि तथा प्रदेश सरकारलाई बलियो बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको बताउँदै उहाँले प्रदेशलाई बलियो बनाउन सहयोगमा कुनै कमी नहुने प्रतिबद्धता जनाए ।
प्रधानमन्त्री ओलीले जनता बलियो भएमा मात्रै लोकतन्त्र बलियो हुने भएकाले सुशासन र स्वच्छतालाई प्राथमिकतामा राखी आर्थिक समृद्धिको दिशामा सरकार अघि बढेको पनि बताए । प्रधानमन्त्री ओलीले कुनै पनि नेपाली अब खान नपाएर र चिसोले कठ्याँग्रिएर मरे भन्ने सुन्न नपर्ने बताए ।
उनले जनतालाई सुशासन दिन आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्ने कसैलाई पनि नछाड्ने बताउँदै भन्नुभयो, “म भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन र भ्रष्टाचारको मामलामा को पर्छ भनेर अनुहारतिर हेर्दिनँ ।”
प्रधानमन्त्री ओलीले ‘सिण्डिकेट’ तोड्न खोज्दा निकै ठूलो प्रतिरोधको सामना गर्नुपरेको बताउँदै अनुचित कुराहरुमा सरकारको कुनै सम्झौता नहुने र कानूनको राज्यमा विभिन्न खाले सेटिङ मिलाउने र अनुचित बल प्रयोग गरेर जनतालाई दुःख दिने जस्ता कार्यसँग सम्झौता नगरिने समेत स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आकाशको अधिकार लिने र विमानहरु चल्ने बताउँदै आफूले भारत भ्रमणमा जाँदा पनि यो कुरा राखेको बताए । रासस
Comments are closed.