वैशाख १७, नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे इनको भेटवार्ताले विश्वभर रहेको त्रासपूर्ण वातावरण हटेको बताएका छन् ।
दुई नेता बीचको भेटवार्ता सम्बन्धी पहिलोपटक प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । सोमबार मुसीकोट खलंगामा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मलेनमा उहाँले उक्त भेटघाटले दुवै देशबीच सम्बन्ध सुधारसँगै शान्ति र समृद्धिको मार्गचित्र भएको प्रतिक्रिया दिए ।
दुई मुलुकबीचको विवादका कारण तेस्रो विश्वयुद्ध उत्पन्न हुनसक्ने आशंका गरेका बेला भेटवार्ताले नयाँ सन्देश दिएको उनको भनाइ थियो । दुई मुलुक एकापसमा मिल्नुको विकल्प नभएको भन्दै उनले अब भाइ–भाइको सम्बन्ध स्थापित हुनु पर्ने बताए ।
यसअघि उत्तर कोरियाली नेता किम जङ अन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले कोरियाली प्रायद्वीपलाई पारमाणविक अस्त्रमुक्त पार्न र सन् १९५३ मा युद्धविराममा टुङ्गिएको कोरियाली युद्धको औपचारिक अन्त्यका लागि मिलेर काम गर्ने शिखर बैठकमा सहमति गरेका थिए ।
अर्काे फरक प्रसंगमा नेता नेपालले दुई पार्टीबीच हुने एकता मिल्नका लागि मात्र नभई देशमा स्थायी शान्ति र समृद्धिका लागि पार्टी एकता हुन लागेको बताए । पार्टी एकताको प्रयास अन्तिम चरणमा पुगेको भन्दै उहाँले कुनै शक्तिले पनि अब एकतालाई रोक्न नसक्ने दाबी गरे । रासस
Comments are closed.