वैशाख,१८ / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतबाट सीधै जनकपुर आउने भएका छन् । वैशाख २८ मा नेपाल आउन लागेका मोदी भारतको विहारबाट तीन वटा हेलिकप्टर चार्टर गरेर जनकपुर आउन लागेका हुन् । मोदीको भ्रमणको सुरक्षा अवस्थाबारे बुझ्न धनुषामा रहेका गृहमन्त्री रामबहादुर थापाले भारतीय प्रधानमन्त्री मोदी सीधै जनकपुर आउन लागेको जानकारी गराएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषामा मंगलबार भएको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले भारतीय प्रधानमन्त्री मोदीले भ्रमणका बेला जनकपुरधाममा पूजा-आजा गर्ने र मुक्तिनाथ दर्शनका लागि मुस्ताङ जाने बताए । मोदीको यो भ्रमण धार्मिक भ्रमण भएको मन्त्री थापाले जानकारी गराए । यस पटक कुनै सम्झौता नहुने उनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीको हालै भएको भारत भ्रमणपछि दुई देशबीच सम्बन्धमा सुधार आएको पनि उनको भनाइ छ ।
भारतीय प्रधानमन्त्री सीधै जनकपुर आउने भएपछि उनको स्वागतका लागि प्रधानमन्त्री ओली जनकपुर जाने सम्भावना रहेको छ । मोदीको भ्रामणलाई लिएर सुरक्षा व्यवस्था चुस्त पारिएको छ । भारतीय प्रधानमन्त्री मोदीलाई बाह्रविगामा नागरिक अभिनन्दनको तयारी पनि भएको छ ।
Comments are closed.