वैशाख १८, ‘ख्याट ख्याट ख्याट ख्याट………..’ लुगा सिलाउने मेशिन चलाउँदै तीन वर्षअघि भूकम्पले ढालेको जीवन सिलाउने प्रयास गरिरहेकी छन्, रश्मिला अवाल ।
भक्तपुर नगरपालिका महाकाली मन्दिरको ठिक पछाडि मच्छेनारायण मन्दिरसँगै रहेको घरको एउटा कोठाको कुनामा लुगा सिउने मेशिन चलाउन व्यस्त छन् उनी । त्यही कोठाको अर्को कुनामा खाना पकाउने ग्यास र चुलो ।
दायाँबायाँ २ वटा साना खाट, सँगै जोडेर राखिएको दराज, नजिकै पानीको ड्रम । एउटै कोठामा चारजनाको सिंगो परिवार अटाएका छन् खाँदिएर । विसं २०७२ वैशाख १२ गतेको ‘गोरखा’ भूकम्पले मूलढोकामा रहेको आफ्नै घर भत्काएर पुरिएको ५ महिनाको बालक सोनिसलाई २२ घण्टापछि नेपाली सेनाको उद्धार टोलीले जीवितै उद्धार गरेका थिए ।
दोस्रो जीवन पाएर चर्चामा आएका त्यही बालक अहिले चार वर्ष पुगे । भाडामा लिएको त्यही एउटा कोठा सिंगो संसार बनेको रश्मिलाको परिवारलाई भूकम्पले सुकुम्बासी नै बनाइदियो ।
भूकम्पले घर भत्किएर पुरिएकी ९ वर्षीया छोरी सोनियाको स्थानीयवासीले दुई घण्टापछि र पाँच महिनाको छोरा सोनिस पुरिएको २२ घण्टापछि नेपाली सेनाको उद्धार टोलीले जीवितै उद्धार गरेपछि सिंगो परिवारले दोस्रो जीवन पाएको महसुस गरेका थिए ।
लुगा सिलाउने मेशिन चलाउँदै रश्मिला भन्छिन्, “तीन वर्षअघि भूकम्पले ढालेको जीवन सिलाउने प्रयास गरिरहेका छौँ तर, यता सिलायो, उता प्वाल, उता सिलायो यता प्वाल भने जस्तै भएको छ हाम्रो जीवन ।”
दोस्रो जीवन पाएको सोनिस यस वर्षदेखि विद्यालय जान थालेको छ । छोरालाई विद्यालय पु¥याएर फर्केपछि लुगा सिलाउने काममा व्यस्त रहने रश्मिला विद्यालय विदा भएको बेलामा लुगा सिलाउने कल रोकिने गरेको बताउछिन ।
घर भएको जग्गाको आफ्नै नाममा लालपूर्जा नहुँदा न त उनीहरुले भूकम्पपीडितको परिचयपत्र नै पाए, न त कुनै अनुदान नै । रश्मिला भन्छिन, “भूकम्पले ढालेको जीवन म लुगा सिलाएर उठाउने प्रयास गरिरहेछु । मेरा श्रीमान् गाडी कुदाएर परिवार धान्ने प्रयास गरिरहेका छन् तर, जीवन अब उड्ला भन्ने आशा मारिसकेको छु ।”
भूकम्पले सँगैको घरमा पुरिएका जेठाजूका दुई छोरीको ज्यान गयो तर उहाँका दुवै छोराछोरीको जीवितै उद्धार भयो । नयाँ जीवन पाएका छोराछोरीलाई कसरी हुर्काउने र पढाउने भन्ने चिन्ता पनि उनलाई उत्तिकै छ ।
“छोरी डाक्टर पढ्छु है आमा भन्छे । चार वर्षको छोरा दिदीसँगै म पनि डाक्टर बन्ने भन्छ । गतिलो बास बनाउन नसक्ने हामीले कसरी छोराछोरीको इच्छा पूरा गर्नु र खै ? हाम्रा लागि सबै सपना हुन् ।” उनी भाबुक हुन्छिन् ।
जिल्ला प्रशासन कार्यालयदेखि वडा कार्यालयसम्म भूकम्पपीडितको परिचयपत्र लिन जाँदा लालपूर्जा नहुनेले पाउँदैनन् भन्दै फर्काएपछि निराश भएकी रश्मिलालाई अब सरकारले दिने अनुदानको कुनै आशा छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली यसअघि प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीसँग सिधा कुरा भन्ने टेलिभिजनको कार्यक्रममा भेटेर सबै कुरा राखेका उनलाई प्रधानमन्त्रीको आश्वासन पनि पूरा नहुँदा अब आशाका सबै ढोका बन्द भए झैँ लागेको छ ।
उनी भन्छिन्, “सोनिस स्कूल जाने भएको छ । यसवर्षदेखि व्यासीमा स्कूल भर्ना गरिदिएँ । स्कूलले छात्रवृत्ति दिए हुन्थ्यो भनेको तर दिएन । लुगा सिलाएकै पैसा जोहो गरेर जसोतसो भर्ना गरेँ । नेपाली सेनाले केही भरथेग गर्दिन्छु भनेको छ । छोराको पढाइमा सेनामाथि आशा राखेको छु तर, छोरीको सपना कसरी पूरा गर्ने थाहा छैन ।”
भूकम्पमा पुरिएका बालक सोनिसलाई २२ घण्टापछि उद्धार गरेको नेपाली सेनाले उसको पढाइको जिम्मेवारी उठाउने प्रतिबद्धता जनाएको छ । कक्षा ६ देखि भक्तपुरकै सैनिक महाविद्यालयमा भर्ना गरेर पढाइदिने र त्यसअघि पनि उसको पढाइमा सहयोग गरिदिने प्रतिबद्धताले भने उनलाई निकै हौसला मिलेको छ । रासस
Comments are closed.