काठमाडौँ । युवक र युवतीबिच विवाह हुनु सामान्य कुरा हो । तर, युवकले युवतीको भेष बदलेर युवकसँगै विवाह गरेको घटनालाई भने सामान्य रूपमा लिन सकिन्न ।
राजधानी दैनिकका अनुसार, धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिकास्थित छिन्ताङमा यस्तै खालको असामान्य घटना भएको छ । ठग्ने उद्देश्यले युवतीको छद्मभेष धारण गरेर एक युवकले अर्का युवकसँग विवाह गरेको घटना सार्वजनिक भएपछि गाउँले आश्चर्यचकित भएका छन् ।भोजपुरको रामप्रसाद राई गाउँपालिकाका २५ वर्षीय राजकुमार राईले युवतीको भेष बदलेर छिन्ताङ मूलधावाका २७ वर्षीय विपीन राईसँग विवाह गरेका हुन् । युवतीजस्तो बनी झुक्याएर युवकसँग विवाहबन्धनमा बाँधिँदै स्थानीयलाई ठगी गर्न थालेपछि राजकुमारलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् ।
उनको ठग्ने शैली देखेर स्थानीय मात्रै होइन, प्रहरी पनि आश्चर्यमा परेको छ । हेर्दा युवतीजस्तो देखिने ती युवकले नाटकीय शैलीमा ठगी गरेको पाइएको धनकुटाका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन् ।
विपीन वैदेशिक रोजगारीका लागि भारतमा भएका बेला फेसबुकमार्फत उनीहरूबिच चिनजान भएको थियो । राजकुमारले युवतीजस्तो बनेर विपीनसँग सम्बन्ध विस्तार गरे । विपीन स्वदेश फर्किएपछि उनीहरूले भागी विवाह गरेका हुन् ।
तर आफूसँग विवाह भएको मान्छे पुरुष नै हो भनेर विवाहअघि भने केही थाहा नपाइएको विपीनको भनाइ छ । उनले गाउँलेले थाहा पाउँदा बेइज्जत हुने डरले गुपचुप बस्न बाध्य भएको जानकारी दिए ।
दुलही बनेर आएका राजकुमार युवतीको कपडा लगाएर बस्ने गर्थे । स्वर पनि युवतीको जस्तै बनाएर बोल्न जान्दथे । लामो कपाल पालेर केटीजस्तै देखिने उनी छिमेकीहरूसँग पैसा सापटी माग्दै हिँड्ने गरेका थिए । तर भोजपुरस्थित घरबाट खोजी भएपछि उनी केटी नभई केटा भएको पर्दाफास भएको हो । राजकुमारले केटीसँग विवाह गरी डेढ वर्षको छोरासमेत रहेको पत्ता लागेको प्रहरीले जनाएको छ ।news24
Comments are closed.