Nepal's First Video FM

‘धरहरामा पार्किङ बन्द गर्नू’ भन्दै पत्र आएपछि मेयर शाह आक्रोशित

29

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाले धरहरामा पार्किङ बन्द गर्नु भन्दै आएको पत्रप्रति आक्रोश व्यक्त गरेका छन्।

सडकबाट पार्किङ हटाएर धरहराको भुँइतलामा पार्किङ नि:शुल्क गरेको महानगरलाई धरहराबाट निर्माण चलिरहेकाले पार्किङ बन्द गर्नु भन्दै पत्र आएको थियो। त्यसपछि सोमबार बिहानै सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले त्यसप्रति उनले आपत्ति जनाएका छन्।

‘उद्घाटन भएकै दुई वर्ष ९ महिना पुगिसक्दासमेत सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ–धरहरा निर्माण हुँदैछ। पार्किङ बन्द गर्नू। यस्तो पत्र लेख्नुको औचित्य के हो?’ मेयर शाहले प्रश्न गरेका छन्।

उनले भनेका छन्-  उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ ?’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।

तोकिएको समयमा काम सम्पन्न नहुने र भित्तामा नाम लेख्न हतारोमा निर्णय भई उद्घाटन गर्ने प्रवृत्तिलाई भ्रष्टाचारको नयाँ प्रकृति मान्ने राष्ट्रिय नीति बनाउनुपर्ने उनको भनाई छ ।

निर्माण सम्पन्न नभई उद्घाटन गर्ने कुप्रवृत्तिलाई निरुत्साहित गर्न शाहले आग्रह गरेका छन् ।

सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्यालठट्टा नगर्न आग्रह गर्दै शाहले सो स्थानमा पार्किङ बन्द नरहेको पनि बताएका छन् ।

उनले भनेका छन्- अन्त्यमा सो स्थानमा  पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि नि:शुल्क सञ्चालन हुँदै छ, अझै व्यवस्थापन गर्दै लग्नेछौ । अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर  नेपाल सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौँ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौं ।

You might also like

Comments are closed.