काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विभिन्न नाममा भड्काएर राष्ट्रिय एकता भाँड्ने प्रयासलाई चिर्न खेलाडीहरुलाई आग्रह गरेका छन् ।
नेपाल खेलकुद महासङ्घको केन्द्रीय कमिटीको तेस्रो बैठकको उद्घाटन सत्रलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनेक प्रकारका शक्तिले धर्म, जात र विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न र जनतालाई भड्काउन सक्ने भएकाले राष्ट्रिय एकतालाई कायम राख्न जोड दिए ।
“यति सानो देशमा हामी धेरै जाति, भाषी र जाति मिलेर बसेका छौँ । यो हाम्रो सम्पन्नता र जीवित सम्पदा हो”, प्रधानमन्त्री ओलीले भने , “हामीले राष्ट्र र जनताको मन विखण्डित हुन दिनु हुँदैन । खेल क्षेत्र कुनै जात र धर्म विशेषको हुँदैन । यहाँ उत्कृष्टताका आधारमा खेलाडीको प्रतिनिधित्व हुन्छ । कुनै जातको वा धर्मको प्रतिनिधित्व खोई भनेर सोध्ने वा भड्काउने काम यस क्षेत्रमा हुँदैन । यहाँ विधि, पद्धति र नियमको पालना हुन्छ । यो अनुशासनको कुरालाई समाजव्यापी बनाउने हाम्रो काम हुनुपर्छ ।”
जनताको शासनका रुपमा रहेको लोकतन्त्रमा विधि नमान्ने र सनकका भरमा चल्ने प्रवृत्तिले समाजलाई कहीँ नपुर्याउने प्रधानमन्त्री ओलीले स्पष्ट गरे । समाजमा भ्रष्टहरुले नै भ्रष्टाचारविरोधी नाटक गरेर जनता अल्मलाउने र भ्रष्टाचार नगर्नेलाई तथानाम गाली गरेर असत्य फैलाउन लागेकाले सत्यका पक्षमा प्रस्तुत हुन उनले आग्रह गरे ।
Comments are closed.