काठमाडौँ । काठमाडौँको टुँडिखेलमा आयोजित गौरा पर्वमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । गौरा पर्वको कार्यक्रममा सहभागी एक समूहले ओली र देउवाविरुद्ध चर्को नाराबाजी लगाएका हुन् ।
कार्यक्रमको उद्घाटन पनि ओली र देउवा दुवैले मिलेर गरे। दुवैले टुँडिखेलस्थित मञ्चमा राखिएको दमाह पनि सँगै बजाए। प्रधानमन्त्री ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको बताएका छन्। ‘नयाँ पुस्तामा हाम्रो सभ्यता, शिष्टता कस्तो हो, मर्यादा कस्तो हो भन्ने बिर्सिन खोजेको देख्दा अचम्म लाग्छ। यस्ता घटनाहरु विभिन्न स्थानमा देखिने गरेका छन्। अरुका कार्यक्रम बिथोल्ने गरेका छन्। म आग्रह गर्न चाहन्छु, यो नेपालीपन होइन, नेपाली संस्कृति होइन’, उनले भने।
यस्तै सम्बोधन गर्न पुगेका, सभापति देउवा। देउवा पोडियममा पुग्नासाथ ‘तपाईंहरूले जति गरे पनि बोल्नेवाला छु म। जति गरेपनि गर्नुस्। जति कराए पनि कराउनुस्। जति कराउनुपर्ने छ कराउउनुस्,’ देउवाले भने। भिड झनै आक्रमक बन्न थाल्यो। त्यसपछि कार्यक्रम बिथोल्न आएकाहरू भन्दै देउवा रिसाए।
‘लाज पनि छैन, अर्काको कार्यक्रम बिथोल्ने? लाज नभएकाहरू! अर्काको कार्यक्रम बिथोल्ने? लाज छैन? यही हो तपाईंहरूको संस्कृति? यही हो तपाईंहरूको चलन? यही कुरा सिकेर आएको हो? बदमासहरू!,’ देउवाले भने।
Comments are closed.