सार्वजनिक लेखा समितिको बैठकमा सरकारको नेतृत्वकर्ता दल एमाले र प्रतिपक्षी दलका सांसदहरूबीच नोकझोक भएको छ ।
बुधबार सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा एमाले, प्रतिपक्षी दल माओवादी केन्द्र र स्वतन्त्र सांसदहरूबीच विवाद भएको हो । समितिको बैठकमा प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद अमनलाल मोदीले बोलिरहेको बेला एमाले सांसद योगेश भट्टराईले प्रतिवाद गरेपछि केही बेर नोकझोक भएको हो ।
बैठकमा माओवादी केन्द्रका सांसद मोदीले सार्वजनिक लेखा समितिको सभापति ऋषिकेश पोखरेल सत्तापक्षको भएकाले उपसमितिले तयार पारेका प्रतिवेदन प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताउँदै गर्दा भट्टराईले प्रतिवाद गर्न सुरु गरे ।
योगेशले प्रतिवाद गर्न थालेपछि माओवादी केन्द्रका सांसद मोदीले यसमा एमालेबाहेक छलफल गरौँ भनेका थिए । सांसद मोदीले भने, ‘एमाले पहिले बाेलेपछि हामीले बोल्ने ? एमालेको सबैभन्दा पहिला कसरी बाेल्ने पालाे आयाे ?’
त्यसपछि मोदीको समर्थनमा स्वतन्त्र सांसद डा. अमरेश सिंह उभिए । सांसद सिंहले सरकारको नेतृत्वकर्ता दल एमालेकै सांसद सभापति हुँदा प्रतिवेदन कार्यान्वयनमा कठिनाइ भएको बताए । ‘जुन दलको नेतृत्वमा सरकार छ, जुन दलको प्रधानमन्त्री हुनुहुन्छ, त्यही दलको सांसद समितिको सभापति हुँदा यो हविगत भयो,’ सिंहले भने, ‘उहाँले एमालेका सांसदहरूलाई मात्रै बोल्न दिनुभयो ।’
Comments are closed.