वैशाख १९, वीरगञ्ज महानगरपालिका क्षेत्रमा वैशाख २० गतेदेखि रातिको समयमा ठूलो स्वरमा गीत बजाउन प्रतिबन्ध लगाइएको छ ।
विवाह र अन्य धार्मिक कार्यमा ठूला साउन्ड सिस्टम जोडेर र डीजेमार्फत रातिमा चर्को आवाजमा गीत संगीत बजाउँदा जनजीवन प्रभावित भएको भन्दै महानगरपालिकाले यस्तो नियम लगाएको हो । यस्तो संगीत बज्दा बालक, बृद्वबृद्वा, सुत्केरी, बिरामी, विद्यार्थीहरु सुत्नै नसक्ने जनगुनासो थियो ।
जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी वीरगञ्ज महानगर क्षेत्रमा गर्मी मौसममा राति १० बजेपछि र जाडो मौसममा राति ९ बजेपछि चर्को आवाज आउने गरी कुनै पनि काम गर्न निषेध गरिएको जनाएको छ । सूचना अटेर गरेमा प्रहरीले कारबाही गर्ने जिल्ला प्रहरी प्रमुख एसपी डा. गणेश रेग्मीले जानकारी दिए ।
यो नियम तत्कालका लागि महानगरपालिका क्षेत्रभित्र रोक लगाउने र पछि जिल्लाभरी नै लागु गराउने उनको भनाइ छ । ‘जथाभावी चर्को आवाज निकालेर आम जनताको मौलिक हक हनन भइरहेको छ ।
नगरपालिकाकी उपप्रमुख सल्मा खातुनले जिल्लामा आयोजना गरिने विभिन्न सामाजिक, राजनीतिक र आध्यात्मिक कार्यक्रमहरुमा लाउड स्पीकर र डीजेको प्रयोग गर्दा अत्याधिक ध्वनि प्रदुषण हुने भएकोले यस्ता कार्यलाई बन्द गर्नुपर्ने बताइन् ।
प्रहरीले अटेर गरी ध्वनि प्रदुषण गरेमा खबर गर्न आग्रह गरेको छ । पहिला सम्झाउँने र सम्झाउँदा अटेर गरे कारबाही गर्ने प्रहरीले बताए । प्रहरी उपरीक्षक रेग्मीले भने-‘रातको समयमा अत्यधिक चर्को आवाजमा कार्यक्रम सञ्चालन गरेमा त्यस्तो व्यक्तिलाई प्रहरीले पक्राउ गरी केही सार्वजनिक अपराध ऐन अन्तर्गत कारवाही गर्छ ।’
Comments are closed.