Nepal's First Video FM

कांग्रेस नेता गगन थापाद्वारा एमाले माओवादीलाई ठाडो चेतावनी,एकता हुन नसकेकोमा अरुलाई मुछ्ने काम नगर्नुस

820

वैशाख,१९/ नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी एकता हुन नसकेकोमा अरुलाई मुछ्ने काम नगर्न एमाले र माओवादी नेताहरुलाई चेतावनी दिएका छन् । गुल्मी जाने क्रममा बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै नेता थापाले एकताका लागि शुभकामना दिए ।

एमाले र माओवादीले आपसमा पदको भागबण्डा मिलाउन नसक्ने तर, अदृश्य शक्तिले एकता भाँड्न खोजेको भनेर प्रचार गर्नु लज्जास्पद भएको टिप्पणी गरे । ‘एमाले र माओवादीबीचको एकता प्रक्रिया उहाँहरुको आन्तरिक विषय हो, यसमा हामीलाई कत्ति पनि चासो छैन, उहाँहरु मिल्नोस् भन्ने शुभकामना छ’ थापाले भने, ‘तर, आफूहरु पदको भागबण्डामा नमिल्ने अनि बाहिर अदृश्य शक्ति र के के ले गर्दा एकता भाँड्न खोजिँदैछ भनेर अरुलाई दोष लगाउने, यस्ता कुरा गर्दा लज्जाबोध हुनुपर्ने हो ।’

युवा नेता थापाले सरकारका राम्रा कामहरुमा कांग्रेसले पूर्ण सहयोग गर्ने बताए । ध्वंशकारी भूमिका नखेल्ने भन्दै उनले भने, हिजो चुनावमा गरेका बाचाहरु सरकारले सकारात्मक ढंगबाट अघि बढाउन चाहन्छ भने हाम्रो सहयोग रहन्छ । तर, त्यसबाट बरालिन खोज्यो भने ठीक ठाउँमा राख्ने हाम्रो ड्युटी हो ।’ कांग्रेसकै नेताहरुले सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताइरहँदा थापाले फरक मत राखे । नेपालका कम्युनिष्ट पार्टीहरु कम्युनिष्ट पार्टीको चरित्र छ नै नभएको उनले बताए ।

सरकारका कतिपय लक्ष्य सकारात्मक नभएपनि अधिनायकवाद उन्मुख भन्ने निष्कर्षमा पुग्नु हतार हुने उनले बताए । अहिले विश्वभर नै लोकतन्त्रलाई खतरा निर्वाचित सरकार, जसमा उग्र राष्टवादका नाममा आउने फसिस्ट चिन्तन हुन्छ, भएको उनले बताए ।

फरक मतलाई राख्ने प्रति चरम असहिष्ण हुने शैली गलत भएको उनले बताए ।

You might also like

Comments are closed.