Nepal's First Video FM

सात समुद्रपारि बसेर लोकसंगीतमा नेपाली माटो खोज्दै बागलुङ्गे सर्जक नवराज पन्त !

619

वैशाख २३, “सात समुद्रपारि भए पनि मलाई मेरै पाखापखेरा प्रिय लाग्छन् । यहीँका भञ्ज्याङ र चौतारी सुन्दर लाग्छन् । धवलागिरि र माछापुच्छ्रेको छाया मन पर्छ”, यो भनाइ हो सर्जक नवराज पन्तको ।

४ वर्षदेखि अमेरिकाको मेरिल्याण्डमा रहेर पनि नेपाली पाखा,पखेराको सपना देख्ने पन्तले सिर्जना गर्नुभएको ‘डाँडै फुर्के सल्लो’, ‘मायालुको शहरमा’, ‘पिरतीको खाममा’, ‘मेरो गाउँमा घर छ’ जस्ता लोकदोहोरी गीत चर्चित छन् ।

उनी मेरिल्याण्डमा बसेर सेतो धवलागिरिले पाखापखेरामा प्रकाश छरेको, माछापुच्छ्रेले फेवातालमा डुबुल्की मारेको, लेकको चिसो पानीले तिर्खा मेटाएको तथा रोधी घरमा बसेर मौलिक नेपाली लोकभाका घन्काएको सपना देख्छन् । उनले लेखेका गीतले यस्तै भन्छन् ।

विसं २०४२ चैत १० गते बागलुङमा जन्मेका पन्त घरको बार्दलीबाट देखिने धवलागिरि र माछापुच्छ्रेलाई नै विम्ब वनाएर लोकगीतको सिर्जना गरेको सुनाउछन् ।

लोकगायक वसन्त थापा भन्छन्-“पन्त नयाँ विषयवस्तुलाई उठान गर्नुहुन्छ । उहाँका शब्दमा सिर्जनात्मकता छ । पुरानो विषयलाई नयाँ परिवेश अनुरुप बनाउन सक्ने सोच र क्षमता उहाँका शब्दमा पाइने हुँदा म उहाँका गीत गाउन प्रोत्साहित हुन्छु ।”

‘संस्कार र संस्कृति जोगाउनु हरेक नागरिकको कर्तव्य ठान्ने पन्तले आफ्नो चार वर्ष लामो अमेरिका बसाइपछि पनि स्वदेशमा रहने नेपालीले मातृभूमिप्रति लगाउन सक्ने गुनभन्दा कम योेगदान गर्नुभएको छैन ।’

‘पन्तमा अदम्य साहस, इमान्दारी र निर्भीकता छ, यसलाई शब्दमा उतार्न उहाँसँग सीप छ, जोश र जाँगर पनि छ । पश्चिमा गीतसंगीतले बिगारेको नेपाली समाजलाई आफ्नो संस्कार र संस्कृतिप्रति पनि सचेत बन्दै अघि बढ्ने बोध गराएको छ’ गायक थापाले भने ।

हुन त कतिपयले आफ्नो कलालाई जीविकोपार्जनको माध्यम वनाएका हुन्छन् तर पन्त भन्छन्-‘कला प्रकृतिले दिएको अनुपम उपहार हो, यसलाई दुई छाक खान र व्यक्तिगत फाइदाका लागि मात्र प्रयोग गर्नु हुँदैन ।’

‘कलाकारमा सेवाभाव, आफ्ना संस्कार तथा संस्कृतिप्रति गहिरो अध्ययन र माया रहेन भने न त कलाकारको प्रगति सम्भव छ न कला नै फस्टाउन सक्छ ।’ ‘कोही कवि, गायक वा सङ्गीतकार बन्छु भन्दैमा त्यो सम्भव हुँदैन ।’

पन्तका कैयौँ गीत आफूले गाएको बताउँदै गायक थापा भन्छन्,-‘किन किन मलाई त उहाँको शब्दमा जादु छ जस्तो लाग्छ ।’ उनका ‘धौलागिरि हिमालको छाया कहाँ होला’ भन्ने बोलका गीतले लोकसङ्गीत क्षेत्रकै उचाइ थपिदिएको थापा बताए ।

लोकगायक तथा संगीत सर्जक कुलेन्द्र विकले भने-‘पन्तका सिर्जनाले नेपाली लोक पारखीको मनमस्तिष्कमा अमिट छाप छाडेका छ । उनका शब्द मौलिक छन् र नेपालीको जनजिब्रोमा सजिलै बस्न सक्छन् । विदेशमा बसेरै पनि लोकसङ्गीतप्रति ठूलो योगदान गरिरहनुभएका पन्त लोकसाहित्य बुझेका सर्जक हुन् ।’

मलाई देश छाडेर विदेश जाने पटक्कै मन होइन, आफ्नो बाध्यता हो । त्रिभुवन विश्वविद्यालयबाट एमबिबिएस गरेपछि केही समय अध्यापन पेशामा लागेँ । उनी भन्छन्-‘निजी क्षेत्रमा अध्यापन गर्दा पैसा पनि खासै नपाइने र घरको आर्थिक स्थिति त्यति मजबुत नभएकाले साथीको लहैलहैमा अमेरिका आउने सोच बनाएँ ।’

नेपाली खोलानाला र पाखापखेराका सुसेलीलाई शब्दमा उतार्ने क्षमता राख्ने पन्तको हालै आफ्नो ‘धौलागिरि हिमालको छाया… ” भन्ने गायक थापा र विष्णु माझीको स्वरमा प्रकाशित पछिल्लो गीतको श्रव्यदृश्य सामग्री समेत युट्यूबबाट सार्वजनिक भएको छ ।

अभ्यास डिजिटल रेकर्डिङमार्फत बजारमा ल्याइएको तथा थापा, ओबी रायमाझी, करिश्मा ढकाल र रीना थापाको अभिनय रहेको उक्त गीतमा प्रकाश भट्टको निर्देशन छ ।

You might also like

Comments are closed.