Nepal's First Video FM

अभियुक्तलाई छुटाउन प्रहरी चौकीमा स्थानीयको आक्रमण, ४ सुरक्षाकर्मी घाइते

643

वैशाख २४, पर्सा । पक्राउ गरिएका अभियुक्तलाई छुटाउन प्रहरी चौकी सेढवामा स्थानीयवासीले आक्रमण गर्दा चार सुरक्षाकर्मी घाइते भएका छन् ।

अभियुक्तलाई छुटाउन स्थानीय बासिन्दाले सोमबार बिहान करीब ३ बजे प्रहरी चौकी सेढवानमा आक्रमण गर्दा तीनजना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी जवान घाइते भएका हुन् ।

घाइते चारैजनाको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा प्रहरी सहायक निरीक्षकहरु गोपाल खड्का, सुकेश्वर महतो र शम्भु महतो तथा प्रहरी जवान जयप्रकाश यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

घाइतेमध्ये खड्का र यादवको स्वास्थ्य अवस्था मध्यम रहेको उपचारमा संलग्न चिकित्सकले बताए । प्रहरीलाई दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका चारजना भारतीय नागरिक र चोरीको अभियोगमा पक्राउ परेका दुईजना नेपाली नागरिकलाई छुटाउन सेढवावासीले प्रहरी चौकीमा आक्रमण गरेको लिम्बूले बताए ।

स्थानीयवासीले प्रहरी चौकीमा रहेका दुई थान मोटरसाइकलमा आगजनी गरेका छन् । उनीहरुले प्रहरीको वाहनमा समेत तोडफोड गरेपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र केही राउण्ड हवाई फायर गरेको थियो । आक्रमणमा प्रहरी चौकीमा क्षति पुगेको छ । रासस

You might also like

Comments are closed.