Nepal's First Video FM

सांसदहरुले भने-‘मोदीसँग सिमा विवाद, तराई मधेस डुबान समस्या समाधानको कुरा उठाइयोस’

582

वैशाख २७, सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सीमा विवाद, सीमा सुरक्षा, तराई/मधेसको डुबान समस्या समाधानमा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले दुईपक्षीय हितका सवालमा भारतीय पक्षंसंग जोडदार रुपमा आफ्ना कुरा राख्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद लिलानाथ श्रेष्ठले तराई मधेसमा बर्षेनी ठूलो क्षति पुर्‍याउने गरेको भन्दै नदी नियन्त्रणतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले सुनकोशी कमला डाइभर्सनका लागि बजेट विनियोजन गर्न पनि माग गरे ।

प्रदेश २ मा जनसंख्या र मानव विकास सूचाङ्कका आधारमा बजेट विनियोजन गर्नुपर्ने उनको माग छ । सांसद सञ्जयकुमार गौतमले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा विगतका सन्धि सम्झौता कार्यान्वयनबारे छलफल गर्न सरकारको ध्यानाकर्षण गराए ।

मधेसको डुबानको समस्या द्धिपक्षीय भएकाले ती विषयमा पनि कुरा उठाउन माग गरे । सांसद महेश्वर गहतराजले तराईको डुबान समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग कुरा गर्न माग गरेका छन् ।

अन्तर्राष्ट्रिय मापदण्ड विपरीत भारतले नेपालको भुभागमा निर्माण गरेका लक्ष्मणपुर बाँध र पूर्वपश्चिम सडक लगायत संरचनाले त्यस क्षेत्र बासिन्दा हरेक बर्ष डुबानको समस्या भोग्न बाध्य भएको भन्दै सो बारे भारतीय प्रधानमन्त्री मोदी संग कुरा गर्नसरकारको ध्यानाकर्षण गराए ।

You might also like

Comments are closed.