Nepal's First Video FM

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै, जानकी मन्दिरमा शंखनाद गरेर स्वागत

643

वैशाख २८, प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा अाज आउँदै हुनुहुन्छ ।

भारतका कार्यकारी सरकार प्रमुखका रुपमा तेस्रो पटक हुन लागेको यो भ्रमणले आपसी आत्मीयता, मैत्री र शताब्दीऔँ पुरानो दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने अपेक्षा नेपाल र भारतका जनताले गरेका छन् । प्रधानमन्त्री ओलीको गत महिना सम्पन्न भारतको राजकीय भ्रमणको प्रत्युत्तर भ्रमणका रुपमा पनि प्रधानमन्त्री मोदीको भ्रमणलाई लिइएको छ । राजनीतिक तहमा हुने यस्ता उच्चस्तरीय भ्रमणले एकार्काका पीरमर्का र विकासका आकांक्षा बुझ्न मद्दत मात्र पुग्दैन बदलिँदो विश्व परिवेशमा मतैक्यताका साथ क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका साझा विषयमा सहकार्य गर्न सघाउँछ ।

प्रधानमन्त्री मोदीले नेपाल भ्रमणको पूर्वसन्ध्यामा गर्नुभएका तीन ‘ट्विट्’ले नेपालसँगको अनादिकालदेखिको भारतको परम्परागत सम्बन्धलाई नयाँ आलोकमा प्रस्तुत गर्न खोजेको प्रतीत हुन्छ । “लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्न तथा आर्थिक समृद्धि हासिल गर्ने नयाँ युगमा प्रवेश गरेको नेपाललाई अटल साझेदारका रुपमा भारत प्रस्तुत हुन चाहन्छ” नेपाल सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’ निर्माणको परिकल्पना साकार पार्न सबल साझेदार हुने उत्कृट अभिलाषा उहाँले अभिव्यक्त गर्नुभएको छ ।

त्यस्तै अर्को ट्विटमा उहाँले नेपालसँगको सम्बन्धलाई भारतले उच्च महत्व दिएको प्रष्ट्याउँदै द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन आफ्ना समकक्षी ओलीसँग सघन वार्ता गर्ने बताउनुभएको छ । निश्चय पनि उहाँको यो अभिव्यक्तिले विगतका रिक्तता र तिक्ततालाई तिलाञ्जलि दिएको संकेत मात्र गर्दैन भविष्यमा नेपाल–भारत मैत्री नयाँ नेपालको नयाँ संविधान जारी हुनुपूर्वको अवस्थामा पु¥याउने अपेक्षा गर्न सकिन्छ ।

पर्यटन प्रवद्र्धन
जनकपुरधाम र मुक्तिनाथजस्ता विश्वविख्यात धार्मिक एवं सांस्कृतिक महत्वका सम्पदास्थलमा हुने उहाँको भ्रमणले प्रकृतिप्रेमी पर्यटक र तीर्थाटनलाई भारतवर्षमा समुचित प्रवद्र्धन मात्र गर्नेछैन अपितु दुई देशबीचको धार्मिक एवं सांस्कृतिक सम्बन्धलाई एक अटुट कडीका रुपमा चित्रण गर्छ । संयुक्त राष्ट्र संघका पूर्व उपमहासचिव ज्ञानचन्द्र आचार्य द्विपक्षीय भ्रमण एकार्कालाई बुझ्ने अवसरका रुपमा चित्रण गर्नुहुन्छ । उहाँ प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला भएका सहमतिलाई कार्यान्वयन गर्ने, त्यसो हुन नसके पनि छलफल र समिचीन समीक्षा गर्ने, सम्बन्ध नवीकण गर्ने अवसर ठान्नुहुन्छ ।

दक्षिण र उत्तर कोरियाली नेताबीच हालै भएको ऐतिहासिक वार्ता, चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीबीचको हालैको भेटवार्तालगायत क्षेत्रीय रंगमञ्चमा विकसित घटनाक्रमलाई जोड्दै उहाँ भ्रमणले दुवै देशका जनतालाई फाइदा पुग्ने अभिमत प्रकट गर्नुहुन्छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मोहनमान सैंजू समसामयिक विश्वमा उदीयमान अर्थतन्त्रके रुपमा स्थापित लोकतान्त्रिक मुलुक भारतबाट समानताका आधारमा नेपालप्रति व्यवहार हुने विश्वास व्यक्त गर्नुहुन्छ । पूर्व राजदूत सैंजु भारतले आफ्नो विशालता र प्रतिष्ठा तथा विज्ञान, प्रविधि र आर्थिक फाँटमा हासिल गरेको समृद्धिलाई गिज्याउने खालको व्यवहार भविष्यमा फेरि गर्दैन भन्ने सन्देश प्रधानमन्त्री मोदीले दिनुपर्छ भन्नुहुन्छ । पुरानो भारतीय मानसिकता अब परिवर्तन हुनुपर्छ भने उहाँको ठम्याइ छ । मुक्तिनाथ र जनकपुरको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने उहाँलाई लाग्छ ।

नेपाल र भारतबीच तीन वर्षअघि उत्पन्न चिसोपन अब हार्दिकतातर्फ उन्मुख भएको विश्लेषण सुनाउँदै भारतका विद्वत् वर्गमा दरिएका प्रा महेन्द्र पी लामा भन्नुहुन्छ, “तीन वर्षअघि नेपाल र भारतबीच निर्मित एउटा गहिरो खाडल नेपालका प्रधानमन्त्री केपी ओलीबाट नयाँ दिल्ली भ्रमणले आधा पुरेको र अब प्रधानमन्त्री मोदीको नेपाल यात्राले बाँकी आधा खाडल पुर्नेछ । ”

रासस

You might also like

Comments are closed.