वैशाख २८, जिल्ला अदालत उदयपुरले धरौटी राखेर बिहीबार तारेखमा रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरु पुनः पक्राउ परेका छन् । सो पार्टीका केन्द्रीय सदस्य किरण राई सहितका जिल्ला नेताहरुलाई बिहीबार जिल्ला अदालत, उदयपुरले धरौटी राखी तारेखमा रिहा गरेपछि बिहीबार साँझ नै रिहा भएकाहरु पुनः पक्राउ गरेको प्रहरीले बताएको छ ।
यसरी रिहा भएर पुनः पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य किरण राई तथा सोही पार्टीका धनकुटा जिल्ला इन्चार्ज माधव पौडेल रहेका छन् । अन्यमा सो पार्टीका तेह्रथुम जिल्ला सदस्य दिप्शन लिम्बू, अर्का सदस्य नवराज भट्टराई र कमला लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
केन्द्रीय सदस्य किरण राईले आफूहरुलाई जिल्ला अदालत उदयपुरले जनही रु १० हजारका दरले धरौटीमा रिहा गरेर तारेखमा उपस्थित हुनेगरी छाडे पनि प्रहरीले साँझपख जिल्ला बार एशोसिएशनको कार्यालयबाट घेरा हालेर पक्राउ गरी मानव अधिकार हनन गरेको बताउनुभयो । आफुहरु स्वतन्त्र रुपमा रिहा भएपछि घरजाने र जेठ ३० गते अदालतमा हाजिर हुनुपर्ने तारेख भए पनि प्रहरीले घेरा हालेर अदालतबाट बाहिर जान नदिई रात्रिको समयमा पक्राउ गरेको सो पार्टीका नेता राईले बताउनुभयो ।
रासस
Comments are closed.