Nepal's First Video FM

भलिबलका उत्कृष्ट खेलाडी र प्रशिक्षक सम्मानित

687

माघ ८, अखिल नेपाल भलिबल संघले २०७३ सालमा भलिबल खेलमा योगदान पु¥याएका खेलाडी, प्रशिक्षक, प्रतियोगिता आयोजक र जिल्ला संघलाई आज सम्मान गरेको छ । वि.सं. २०३३ मा स्थापना भई पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट नौ महिना अगाडि मात्र राष्ट्रिय खेल मान्यता पाएको भलिबलमा समर्पितलाई पुरुष र महिला गरी आठ विधामा सम्मान गरिएको हो ।

राष्ट्रिय खेल घोषणा भएपछि भलिबलको इतिहासमा पहिलो पटक आयोजना गरिएको कार्यक्रममा पुरुषतर्फ नेपाल प्रहरीका विशाल विक घोषित र महिलातर्फ प्रहरीकै कामन विष्टा उदीयमान खेलाडी घोषित भए ।

विक र विष्टले जनही रु १५ हजार हात पारे । यस्तै संघले यही वर्ष माल्दिभ्समा सम्पन्न एभिभसी सेन्ट्र जोन प्रतियोगितामा कास्य पदक हात पार्न सफल नेपाली टोलीका सदस्यलाई जनही रु २० हजारसहित सम्मान गरेको छ ।

उत्कृष्ट महिला टोलीको सम्मान विभागीय टोली एपिएफले हात पार्दा पुरुषमा विभागीय टोली नेपाली सेना उत्कृष्ट पुरुष टोलीको सम्मान जित्न सफल भयो । उत्कृष्ट दुवै टोलीले प्रतिटोली रु ५० हजार प्राप्त गरे ।

खेलमा चर्चा बटुल्न सफल न्यू डायमन्डकी प्रतिभा मालीले उत्कृष्ट महिला स्पर्धामा सम्मान चुम्दा पुरुषतर्फ नेपाली सेनाका मानबहादुर श्रेष्ठ घोषित भए । उत्कृष्ट दुवैले जनही रु २५ हजार हात पारे ।

सुदूरपश्चिममा पहिलो तालीम केन्द्र स्थापना गरी राष्ट्रिय भलिबल प्रशिक्षणमा उत्कृष्ट भूमिका खेल्दै आएका नेपाली सेनाका प्रशिक्षक जगदीश भट्ट उत्कृष्ट पुरुष प्रशिक्षक घोषित भए भने महिला टोलीका प्रशिक्षणतर्फको उपाधि एपिएफका ज्ञानेन्द्र विष्टले चुमे । विष्ट र भट्ट दुवै रु २५–२५ हजारबाट पुरस्कृत भए ।

कार्यक्रममा उत्कृष्ट सबै विधाका विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालगायतले पुरस्कार एवं सम्मान प्रदान गरे । क्षेत्रीय भलिबल संघ, जिल्ला भलिबल संघ र क्लब प्रतियोगिता गर्ने आयोजकलाई खेलकुद सामग्रीसमेत प्रदान गरिएको थियो ।

यसैबीच नेपाल उद्योग वाणिज्य महासंघले आफ्नै नाममा प्रतियोगिता गर्न नेपाल भलिबलसँग रु एक करोड २० लाखको सम्झौता गरेको छ । प्रतियोगिता सञ्चालनका लागि महासंघले तीन वर्षका लागि संघलाई प्रायोजन गर्ने सम्झौता आइतबार गरेको हो ।

महासंघका अध्यक्ष भवानी राणा र संघका अध्यक्ष शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरे । महासंघका उपाध्यक्ष उमेश प्रधानले भलिबल खेललाई स्थानीयस्तरसम्म लोकप्रिय बनाई राष्ट्रिय खेलका रुपमा विकास गर्न सो सम्झौताले सहयोग पुग्ने बताए ।

You might also like

Comments are closed.