वैशाख ३०, नेपाल बन्द घोषणा गरिएको दिन बिहानै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले भरतपुरस्थित भाटभटेनी सुपर मार्केटमा बम हानेमा छन् । बम प्रहार गरिँदा भाटभटेनी सुपर मार्केटको पूर्वतर्फको भागमा क्षति पुगेको छ ।
आइतबार बिहान ३ बजेर ४५ मिनेटमा मोटरसाइकलमा सवार दुईजनाले सुपर मार्केटमा बम हानेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) दीपक थापाले जानकारी दिएका छन् । थापाका अनुसार बम हान्ने समूहको पहिचान भइसकेको छ । उनीहरूको खोजीकार्य तीब्र बनाइएको थापाले बताए ।
‘सीसी टिभी फुटेजबाट ग्रिनेड हान्नेमध्ये एकजनाको पहिचान भइसकेको छ’, थापाले भने, ‘सुरूवाती अनुसन्धानमा विप्लवका कार्यकर्ता नै भएको खुलेको छ । बिहानैदेखि खोजीकार्य जारी छ ।’
यस्तै खैरेनी नगरपालिकाको पर्सा बजार र राप्ती नगरपालिकाको चिप्लेस्थित वडा नम्वर १ को कार्यालयमा पनि शक्तिशाली बम विस्फोट भएको छ । दुवै विस्फोटबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।
बन्दका कारण चितवन, झापा, धरान, विराटनगर, बर्दिबास, पोखरा, नवलपरासी, बुटवल, कञ्चनपुर, काठमाडौंमा पनि मिश्रित असर परेको छ ।
Comments are closed.