Nepal's First Video FM

नेपालमा १२ विपद: वर्षेनी ८ सय ९० जनाको मृत्यु, एक अर्बको क्षति !

623

जेठ ४, नेपालमा वर्षेनी आउने प्राकृतिक विपत्तिका कारण सयौंको ज्यान जाने गरेको छ । विपत्तिकै कारण वर्षेनी करीब डेढ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ ।

नेपालमा वर्र्षेनी ८ सय ९० जनाको मृत्यु र एक हजार ७ सय ७१ जना घाइते हुने गरेको एसियाली विपद् पूर्व तयारी केन्द्र (एडिपिसी)का नेपाल प्रमुख मानबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार प्राकृतिक विपत्तिकै कारण वर्षेनी एक अर्ब ३१ करोड बराबरको भौतिक क्षति हुने गरेको छ भने एक लाख ३२ हजार १ सय ६१ घरपरिवार प्रभावित हुने गरेका छन् ।

आगलागी, बाढी, पहिरो, चट्याङ, भूकम्प, हावाहुरी, असिना, शीतलहर, हिमपहिरो लगायतका १२ प्रकारका प्राकृतिक प्रकोपले नेपालमा वर्षेनी विपद् निम्त्याउने गरेको छ ।

पछिल्लो चार दशकमा नेपालमा २२ हजार २ सय १६ वटा प्राकृतिक विपत्तिका घटना भएको प्रमुख थापाले बताए । उक्त घटना परी ७९ हजार ७ सय २ जना घाइते भएका थिए भने ५९ लाख ४७ हजार २ सय ६८ घरपरिवार प्रभावित भएको संस्थाको तथ्यांक छ ।

संस्थाको तथ्यांकमा २०७२ सालमा आएको महाभूकम्पको क्षति पनि समावेश गरिएको छ । विपद्बाट पाँच अर्ब ९१ करोड ९८ लाख ५५ हजार बराबरको भौतिक सम्पत्ति क्षति भएको संस्थाको तथ्यांक छ ।

यसैबीच, विपद् व्यवस्थापनका लागि स्थानीय सरकार र स्थानीय संघ संस्थाको क्षमता अभिवृद्धि गर्न झापाको विर्तामोडमा तीन दिने ‘विपद् व्यवस्थापनमा पूर्वतयारी’ सम्बन्धी तालीम आयोजक गरिएको छ ।

प्रमुख थापाले नेपाल विपद्को अत्यन्त जोखिममा रहेको मुलुक भएकाले विपद् व्यवस्थापनका लागि सरोकारवालाको कार्यदक्षता बढाउन आवश्यक रहेको बताउँदै तालीमको आयोजना गरिएको बताए ।

विराट सामुदायिक अध्ययन केन्द्र र उत्थानशील विकास केन्द्रसमेतको व्यवस्थापनमा आयोजित सो तालीममा झापा, ताप्लेजुङ र सुनसरीका गरी ३० जनाको सहभागिता रहेको थियो ।

विपद्सम्बन्धी गर्नुपर्ने कार्यबारे ज्ञानको कमी, अभिलेखीकरणमा दक्षताको कमीजस्ता कारणले स्थानीय सरकार तथा गैरसरकारी संस्थाले प्राप्त सहयोग उपयोग गर्न नसकिइरहेको प्रमुख थापाले बताए । रासस

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.