जेठ ७, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट २१ घण्टा सञ्चालनमा आउने भएको छ । उडानको चाप बढेपछि त्यसलाई कम गर्न विमानस्थल २१ घण्टा सञ्चालन गर्न लागिएको हो । दिउसो साढे १ बजे विशेष कार्यक्रमको आयोजना गर्दै विमानस्थल २१ घण्टा सञ्चालनको घोषणा गरिने त्रिभुवन अन्तर्राट्रिय विमानस्थल कार्यालयका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले आफ्नो सय दिने कार्यक्रम सार्वजनिक गर्दै सय दिन भित्र विमानस्थल २१ घण्टा सञ्चालन गर्न निर्देशन दिएका थिए । सोही प्रतिवद्धताअनुसार विमानस्थल आजबाट दैनिक २१ घण्टा सञ्चालन हुन लागेको हो । हाल १८ घण्टा सञ्चालनमा रहेको विमानस्थल अब ३ घण्टा थप गरेर २१ घण्टा पुर्याउन लागिएको हो । विमानस्थल २१ घण्टा सञ्चालन गर्नका लागि जनशक्ति व्यवस्थापन गर्न चुनौति देखिएको छ ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्म जम्मा १८ घण्टा सञ्चालन भइरहेको छ । सञ्चालन अवधि २१ घण्टा पुर्याउँदा त्यो समय बिहान ६ देखि भोलिपल्ट बिहान ३ बजेसम्म हुनेछ । यसका लागि आवश्यक प्रवन्ध मिलाइसकिएको महाप्रवन्धक क्षेत्रीले बताउँछन् । “अहिले पनि १ बजेसम्म भनिए पनि फ्लाइट एक्स्टेन्सन हुँदा कर्मचारी साथीहरु २ बजेसम्म बस्नुहुन्थ्यो । त्यसैले अहिले थप्न लागिएको समय धेरै होइन,” महाप्रवन्धक क्षेत्रीले भने, “अहिलेकै कर्मचारीबाट तत्कालका लागि काम चलाउँदैछौं ।”
बारखरीबाट
Comments are closed.