माघ, २२ पोखरा । प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक सोमबार यहाँ शुरु भएको छ । नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभा कक्षमा ११ः०२ बजे जनाउ घण्टी बजेसँगै प्रदेशसभाका सदस्य बैठकस्थल प्रवेश गरिसकेका छन् ।
बैठकको प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले अध्यक्षता गरिरहेका छन् । बैठकमा संसदीय परम्परा अनुसार शुरुमा प्रदेश प्रमुख बाबुराम कुँवरले संसद् बैठक आह्वान गरेको सूचना पढिने छ ।
आजको बैठकले आन्तरिक कार्यविधि पारित गर्ने र सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्तिको अध्यक्षमण्डल चयन गर्ने कार्यक्रम छ । बैठकमा प्रत्येक ठूला दलबाट ३/३ जना (कम्तीमा एकजना महिलासहित) र साना दलबाट १/१ जना गरी ११ जनाले मन्तव्य दिने कार्यक्रम तय गरिएको छ ।
बैठक करिब एक घण्टा १५ मिनेट चल्ने अनुमान गरिएको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए । यस प्रदेशमा ११ जिल्लाबाट ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसद छन् ।
नेकपा (एमाले)का २७, नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का १२, जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एकजना सांसद छन् । प्रदेशसभाका ६० जना सदस्यमध्ये मनाङ १ (ख)बाट निर्वाचित राजिव गुरुङले भने हालसम्म शपथ लिएका छैनन् ।
संसद् बैठकमा सहभागी हुनका लागि अधिकांश प्रदेशसभा सदस्य हिजै प्रदेश मुकाम पोखरा आइपुगेको थियो । बैठकको मूल कक्षमा सभामुखसहितको रोष्टमका अतिरिक्त प्रदेशसभा सदस्यका लागि ६६ वटा कुर्ची र केन्द्रीय संसद्कै ढाँचाका ३५ वटा माइक जडान भएको टेबुल राखिएको छ ।
मूल कक्षको पछिल्लो भागलाई पारदर्शी सिसाले छुट्याइएको उपकक्षमा विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी र दर्शकका लागि व्यवस्था गरिएको छ । प्रदेशको बैठकलाई लक्ष्य गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । रासस
Comments are closed.