जेठ २१, रसुवामा रहेको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको उत्पादन आइतबार अपराह्नदेखि बन्द भएको छ । केन्द्रमार्फत उत्पादन भएको विद्युत केन्द्रीय प्रशारण लाइनमा जडान गर्न लगिएको ६६ हजार भोल्टेजको तार नुवाकोटको विदुर नगरपालिका–१० स्थित गेर्खुमा आइतबार अपराह्न चुडिएकाले उत्पादन बन्द गरिएको चिलिमे जलविद्युत कम्पनीका प्रबन्धक सञ्चालक दामोदरभक्त श्रेष्ठले जानकारी दिनुभयो ।
“८८ नंं को विद्युतीय पोलको ‘डिस इन्सुलेटर’ पड्किएर तार चुडिँदा त्यसमार्फत स्थानीय क्षेत्रमा प्रवाह गरिएको लाइनमा छोएर उच्च विद्युत् प्रवाह भएकाले उत्पादन बन्द गरिएको छ”– श्रेष्ठले भन्नुभयो, “अवरुद्ध भएको स्थानमा मर्मत गर्न नेपाल विद्युत् प्राधिकरणको केन्द्रबाट प्राविधिक परिचालन गरिएको छ ।”
काठमाडाैंबाट आइतबार यहाँ आएका प्राविधिकले अवरुद्ध स्थानको अवलोकन गरेपनि वर्षा भइरहेको र अँध्यारो भएकाले सोमबारदेखि मात्र काम शुरु गर्ने जनाएका छन् ।
केन्द्रको विद्युत् उत्पादन बन्द हुँदा सोमार्फत रसुवाको आधा स्थान र त्यहाँ निर्माण भइरहेको रसुवागढी, साञ्जेन, माथिल्लो साञ्जेन जलविद्युत् आयोजनामा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।चिलिमे जलविद्युत् केन्द्रको उत्पादन बन्द हुँदा प्रतिघण्टा रु एक लाख ७१ हजार ८२० नोक्सान हुने गरेको छ ।
उज्यालाेबाट
Comments are closed.