अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिङ्गापुरमा अाउँदाे साता हुने शिखर बैठक राम्ररी अघि बढे आफूले उत्तर कोरियाली नेता किम जङ उनलाई ह्वाइट हाउसको भ्रमणमा बोलाउन सक्ने बताएका छन्।
जापानी प्रधानमन्त्री सिन्जो आबेसँगकाे कुराकानीमा उनले त्यस्तो संकेत दिएका हुन्। कोरियाली युद्ध अन्त्य गर्नेबारे सम्झौता हुने सम्भावना रहेको भन्दै ट्रम्पले त्यसलाई वार्ताको ‘सजिलो अंश’ भनेका छन्।
अमेरिका र उसका साझेदारहरूले उत्तर कोरियाले परमाणु अस्त्र त्याग्नुपर्ने बताउँदै आएका छन्। तर राष्ट्रपति ट्रम्पले त्यसलाई आत्मसात गर्न एकभन्दा धेरै बैठक आवश्यक नपर्ने बताएका छन्।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उ. काेरियाली नेता किम जङ उनले परमाणु निःशस्त्रीकरणका लागि तयार रहेको आफूलाई व्यक्तिगत रुपमा संकेत दिएको बताए। तर उत्तर कोरिया अमेरिकाले भन्ने गरेजस्तो निःशस्त्रीकरणको नजिक आइरहेको छ कि छैन भन्ने चाहिँ स्पष्ट भइसकेको छैन।
राष्ट्रपति ट्रम्पले मित्रवत वार्ताका लागि तयारी भइरहेकाले उत्तर कोरियाको सन्दर्भमा ‘अधिकतम दबाब’ भन्ने शब्द आफूले प्रयोग नगर्ने बताए। तर उनले उत्तर कोरिया विरुद्ध थप कैयौँ प्रतिबन्ध लगाउन सक्ने शक्ति आफूसँग भएको पनि चेतावनी दिएका छन्।
“यदि सबै राम्ररी अघि बढ्यो भन्दै त्यसलाई राम्रो अर्थमा लिन सकिन्छ,” ट्रम्पले भने, “मलाई लाग्छ त्यसलाई सकारात्मक रूपमा लिइनेछ र त्याे हुनसक्छ।” किमसँगकाे वार्ता नराम्राे भएमा ट्रम्पले अर्कै कदम चाल्न सकने संकेत समेत दिए।
Comments are closed.