काठमाडौं । २१ औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको पहिलो खेलमा रुसले साउदी अरेबियालाई ५-० गोल अन्तरले पराजित गरेको छ ।
रुसको मस्कोमा रहेको लुझ्निकी रंगशालामा भएको उद्घाटन खेलमा रुसले साउदी अरेबियालाई निकै दबाबमा राखेको थियो । खेलको १२ औं मिनेटमा युरी गोजिन्सिले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफ सकिनै लाग्दा ४३ औं मिनेटमा चेरिसेभले टिमका लागि दोश्रो गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफ २-० ले अग्रता लिएको रुस दोश्रो हाफमा समेत साउदीविरुद्ध आफ्नो दबदबा बनाइराख्न सफल भयो ।
दोश्रो हाफको ७१ औं मिनेटमा ज्यूबाले पुनः गोल गर्दै ३-०को अग्रता दिलाएका थिए । खेलको ९० मिनेटपछि थप गरिएको इन्ज्यूरी टाईममा चेरिसेभले व्यक्तिगत दोश्रो गोल गर्दै ४-०ले अग्रता दिलाएका थिए ।
गोल लगत्तै खेलको ९४ औं मिनेटमा गोलेभिनले पाएको फ्रिकिक सिधै गोलपोष्ट चुम्दै रुस ५-०ले विजयी भएको छ । जितसँगै रुसको ३ अंक भएको छ । यसअघि विभिन्न सांगितिक कार्यक्रम र आतिसवाजीका साथ विश्वकपको भव्य उद्घाटन गरिएको थियो । उद्घाटन समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, सहितका विश्वभरका उच्चस्तरीय सरकारी प्रतिनिधिको सहभागिता थियो ।
Comments are closed.