ट्रान्जिट यात्रुका लागि त्रिभुवन विमानस्थलमा छुट्टै हल बनाइने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब छुट्टै ट्रान्जिट हल बन्ने भएको छ । काठमाडौंमा ट्रान्जिट गरी विभिन्न गन्तब्यमा पुग्ने यात्रुको चाप बढ्न थालेपछि यस्तो हल निर्माण गर्न लागिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकले त्रिभुवन विमानस्थलमा ट्रान्जिट हल र ट्रान्जिट कार्गो वेयर हाउस बनाउने निर्णय गरेको छ । यसको व्यवस्था मिलाउने जिम्मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिइएको छ ।

‘ट्रान्जिटमा आउने यात्रुको संख्या बढेपछि हलका आवश्यकता महसुस भएको हो,’ विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने, ‘उपयुक्त स्थानको खोजी गरिरहेका छौं ।’

अहिले त्रिभुवन विमानस्थलमा एउटा कोठा ट्रान्जिटका लागि छुट्याइएको छ । तर, त्यहाँ एक पटकमा २०/२५ जना मात्र अट्न सक्छन् । कुनै उडानबाट एकै पटकमा ५०/६० जनासम्म पनि यात्रु ट्रान्जिटका लागि आए भने व्यवस्थापनमा हम्मे हम्मे पर्ने गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांकअनुसार १ वर्षमा करिब १ हजार यात्रुले त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाएर यात्रा गर्ने गरेका छन् । सन् २०१८ को एक वर्षको अवधिमा ९ सय ५१ जनाले ट्रान्जिट प्रयोग गरेका थिए । onlinekhabar