काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीमा २५ सय ६९औं बुद्ध जयन्ती समारोहको औपचारिक सुरुवात भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक उद्घाटन गरेसँगै लुम्बिनी दिवस मूल समारोह सुरु भएको हो ।
समारोहमा प्रधानमन्त्री ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, सांसदहरू, विभिन्न देशका राजदूत, भिक्षु, भिक्षुणी, उपासक, सर्वसाधारण लगायतको उल्लेख्य सहभागिता रहेको छ ।
बुद्ध जयन्तीअन्तर्गतका कार्यक्रम लुम्बिनीमा हिजैदेखि नै सुरु भएपनि मूल समारोह भने आजदेखि सुरु भएको हो । बुद्ध जयन्तीका अवसरमा कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्राममा भोलिसम्म विभिन्न कार्यक्रम राखिएका छन् ।
बुद्ध जयन्ती मनाउन एक करोड रुपैयाँ बजेट छुट्याइएको लुम्बिनी विकास कोषले जनाएको छ ।
शान्तिका अग्रदूतका रुपमा विश्वभर परिचित सिद्धार्थ गौतमप्रति आस्था प्रकट गरी आज २५६९ औँ जयन्ती देशभर मनाइँदै छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भगवान बुद्धप्रति आस्था प्रकट गर्दै यो पर्व मनाउने गरिन्छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले विशेष महत्वका साथ मनाउने गर्छन् ।
इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देहीको लुम्बिनी उद्यानमा पिता शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।